शीर्षक: अदृश्य उपहार
कुनै एउटा गाउँमा दुई जना दाजुभाइ बस्दथे। दाजु एकदमै बाठो, टाठो र हरेक कुरामा ट्यालेन्ट खालको थियो। उ जङ्गलका बाटोघाटो, प्राकृतिक स्रोत र जडीबुटीहरू चिन्न निकै खप्पिस थियो। तर, उसको भाइ भने ठीक उल्टो थियो। उ अलि गुवाचे, लुरे र बिरामी टाइपको थियो, जसलाई गाउँघरका कामहरू केही पनि आउँदैनथ्यो। स्वभाव दुईवटा किनारा जस्तो भए पनि दाजुले आफ्नो भाइलाई ज्यानभन्दा बढी माया गर्थ्यो।एकदिन बिहानै, गाउँघरमा झिस्मिसे अँध्यारो छँदै दाजुले जङ्गल जाने तयारी गर्यो। उसले सुतिरहेको भाइलाई उठाउँदै मायालु स्वरमा भन्यो, "भाइ, म जङ्गलतिर जाँदै छु। तिमी बाहिर कतै ननिस्किनू, घरमै बसेर राम्रोसँग पढिराख है त!" यति भनेर दाजु कन्दमूल र फलफूल खोज्न जङ्गलतर्फ लाग्यो।भाइ दाजुको कुरा मानेर घरमै बस्यो र किताब पल्टाएर पढ्न थाल्यो। तर, घरको एउटै कोठामा बसेर कण्ठ गर्दागर्दै उसलाई एकदमै दिक्क लाग्यो। उसको मन घरभित्र अडिन सकेन। उसले सोच्यो, "कोठाभित्र त उकुसमुकुस भयो, बरु बाहिर खुला ठाउँमा घुम्दै पढ्छु।"उ किताब हातमा लिएर घरबाहिर निस्कियो। बाटोमा पढ्दै, चौतारीतिर घुम्दै उ अगाडि बढ्दै गयो। हिँड्दाहिँड्दै उ गाउँभन्दा अलि टाढा एउटा पुरानो मन्दिर भएको ठाउँमा पुग्यो। त्यो मन्दिर निकै उचाइमा थियो र त्यहाँ पुग्नका लागि एउटा निकै लामो र अग्लो भर्याङ चढ्नुपर्ने हुन्थ्यो। भाइले थकाई नमानी त्यो लामो भर्याङ काट्दै माथि मन्दिरको प्राङ्गणमा पुग्यो।मन्दिरमा पाइला टेक्नासाथ उसको कानमा एउटा निकै सुरिलो र मिठो आवाज गुञ्जियो। कसैले निकै मन छुने गरी गीत गाइरहेको थियो। "यो निर्जन मन्दिरमा यति मिठो गीत कसले गाएको होला?" भन्दै कौतुहलताका साथ उसले दायाँ-बायाँ, वरिपरि हेर्यो। तर, आँगनमा कोही पनि देखिएन।त्यसपछि उ बिस्तारै मन्दिरको भित्रपट्टि पस्यो। भित्र छिरेपछि उसले एउटा अद्भुत दृश्य देख्यो। त्यहाँ एकजना मान्छेले एउटा सानो बच्चालाई आफ्नो काखमा सुताएर निकै मायाका साथ गीत गुनगुनाइरहेका थिए।भाइले केही बेर त्यो दृश्य हेरिरह्यो। उसको मनमा जिज्ञासा शान्त भएन। उसले अगाडि बढेर सोध्यो, "प्रणाम! तपाईँ को हुनुहुन्छ र यहाँ यसरी एक्लै किन गीत गाउनुभएको?"त्यो गीत गाउने मान्छेले मुस्कुराउँदै जवाफ दिए, "बाबु, म यहाँको पुजारी हुँ। यो मन्दिर मात्र होइन, एउटा आश्रम पनि हो। यहाँ धेरै दुख पाएका, अनाथ र सहाराविहीन बच्चाहरू बस्छन्। म उनीहरूको मन बहलाउन र उनीहरूलाई खुसी राख्न यसरी नै गीत गाएर सुनाउने गर्छु। मेरो गीत सुनेर उनीहरू आफ्नो सारा दुख बिर्सन्छन् र एकदम दंग पर्छन्।"पुजारीको कुरा सुनेर भाइको मन पग्लियो। उसले आश्रमका अरू बच्चाहरूलाई पनि देख्यो, जो कोही शारीरिक त कोही मानसिक रूपमा कमजोर थिए। तर, पुजारीको गीत सुन्दा उनीहरूको अनुहारमा संसारकै सबैभन्दा पवित्र मुस्कान थियो। गाउँमा सबैले "केही नजान्ने" भनेर गिज्याउने गरेको त्यो भाइले आज पहिलो पटक आफ्नो मनभित्र एउटा फरक ऊर्जा महसुस गर्यो।उसले पुजारीलाई भन्यो, "गुरुबा, मलाई गाउँमा सबैले कमजोर भन्छन्, म केही गर्न सक्दिनँ जस्तो लाग्थ्यो। तर तपाईँको गीत र यी बच्चाहरूको मुस्कान देखेपछि मलाई लाग्यो—म पनि यी बच्चाहरूका लागि केही गर्न सक्छु।"पुजारीले भाइको सफा मन बुझे र उसको टाउकोमा हात राखेर आशीर्वाद दिँदै भने, "बाबु, संसारमा कोही पनि कमजोर हुँदैन। कसैको शक्ति हातगोडामा हुन्छ, कसैको दिमागमा, त कसैको मनमा। तिम्रो मन निकै विशाल छ।"त्यसपछि पुजारीले उसलाई आश्रमका बच्चाहरूसँग घुलमिल हुन सिकाए। अचम्मको कुरा, जो भाइ घरमा किताब हेर्दा दिक्क मान्थ्यो, उ आज ती बच्चाहरूलाई कथा सुनाउन, हाँस्न र कखगघ बुझाउन एकदमै सिपालु देखियो। उसको झर्कोफर्को गर्ने बानी र आलस्यता कता हरायो कता!उता, साँझपख दाजु जङ्गलबाट मिठो-मिठो ऐँसेलु, काफल र अन्य जङ्गली फलफूलहरू बोकेर खुसी हुँदै घर फर्कियो। तर घरमा भाइलाई नदेखेपछि उ चिन्तित भयो। गाउँलेहरूलाई सोध्दै-सोध्दै उ खोज्दै हिँड्यो र अन्ततः त्यही मन्दिरको लामो भर्याङ चढेर माथि पुग्यो।जब दाजु मन्दिरको आँगनमा पुग्यो, उ त्यहाँको दृश्य देखेर अचम्ममा पर्यो।उसको "कमजोर र बिरामी" भनिने भाइ त त्यहाँ आश्रमका दर्जनौँ बच्चाहरूको बीचमा बसेर हाँस्दै, नाच्दै उनीहरूलाई पढाइरहेको थियो। भाइको अनुहारमा एउटा छुट्टै तेज र आत्मविश्वास झल्किएको थियो।दाजुलाई ढोकामा उभिएको देख्नासाथ भाइ दौडेर आयो र भन्यो, "दाजु! तपाईँले त जङ्गलबाट फलफूल ल्याउनुभयो होला। तर मैले आज यहाँ आफ्नो जीवनको लक्ष्य र साँचो खुसी भेटाएँ। म अब धेरै पढ्छु र यी बच्चाहरूको भविष्य उज्यालो बनाउँछु।"दाइका आँखा खुसीले रसाए। उसले जङ्गलबाट डोकोभरि ल्याएका ती लामा, रसिला र मिठा फलफूलहरू हाँस्दै त्यही आश्रमका बच्चाहरूलाई बाँडिदियो। सबै बच्चाहरू खुसीले झुमिए। दाजुले भाइलाई अङ्गालो हाल्दै भन्यो, "भाइ, म त केवल जङ्गल घुम्ने र फलफूल मात्र चिन्न सक्ने मान्छे रहेछु। तर तिमी त मान्छेको मन जित्ने र जीवन बदल्ने साँचो नायक बनिसकेछौ। मलाई तिमीप्रति गर्व छ।"त्यस दिनपछि, दाजुले भाइलाई कहिल्यै कमजोर ठानेन। दाजुले आफ्नो बाठोपन र बुद्धि आश्रमको व्यवस्थापन र बच्चाहरूका लागि बस्ने-खाने व्यवस्था मिलाउनमा लगायो, भने भाइले मिहिनेत गरेर पढी त्यही आश्रमका बच्चाहरूको साँचो संरक्षक र शिक्षक बन्यो। दुई भाइको निस्वार्थ माया र कर्मले गर्दा त्यो सानो मन्दिरको आश्रम गाउँकै सबैभन्दा सुन्दर, सुरक्षित र खुसी ठाउँ बन्यो।
Source: This story is a modern retelling based on oral folklore and memories shared by the people in author's life. The original author is unknown, and the narrative has been adapted and completed by the author to preserve it here on balyakal.com.